(१) नियम ७ अन्तर्गत ठेक्का लिन हाजिर भएमा किस्ताबन्दीमा कुनै रकमको ठेक्का लिने भए सो व्यक्तिले बुझाउनु पर्ने जम्मा ठेक रुपैयाँको तीन खण्डको एक खण्ड बराबरको जमानत वा डिपोजिट (ऐनको दफा १४ बमोजिमको) दिनु पर्छ ।
(२) उपनियम (१) अन्तर्गत राखिएको जमानत वा डिपोजिट ठेकेदारको सो ठेक्का सम्बन्धी सबै दायित्व पूरा नभएसम्म फिर्ता हुने छैन ।
(३) दुई वा सो भन्दा बढी व्यक्तिहरु मिली साझामा ठेक्का लिएकोमा सो ठेकेदारहरु मध्ये एकजनाले सबैको निमित्त वा सबैले आफ्नो हिस्सा बमोजिम सो ठेक्काको लागि चाहिने जमानत वा डिपोजिट दिन सक्नेछ । तर हिस्साको अङ्क खुलेकोमा सबैले बराबर अङ्कको जमानत वा डिपोजिट दिनु पर्छ ।
(४) कुनै ठेक्काको लागि कसैले अचल जायजेथा जमानत राखेमा सो ठेक्का सम्बन्धी सबै दायित्व ठेकेदारको पूरा नभएसम्म सो जायजेथालाई कुनै किसिमले पनि हस्तान्तरण गर्न वा अन्यत्र जमानत राख्न पाइने छैन । ठेकेदारले आफूले गरेको कबूलियत बमोजिम काम नगरेमा वा ठेक्काको अवधि भुक्तान हुनु भन्दा अगावै ठेक्का छाडे वा तोडेमा त्यसबाट नेपाल सरकारलाई हुने नोक्सानी र नेपाल सरकारले ठेकेदारबाट लिनु पर्ने बाँकी र त्यसको दश प्रतिशत सूद समेत सो जायजेथाबाट समेत असूल उपर गरिनेछ भनी ठेक्का दिने कार्यालय, अड्डा वा अधिकारीले कागज गराउन सक्नेछ ।
(५) उपनियम (४) मा उल्लेख भए बमोजिमको सबै दायित्व ब्यहोर्ने गरी ठेकेदारको निमित्त ऐनको दफा १९ अन्तर्गतको जमानी हुने व्यक्तिले आफ्नो अचल जायजेथा जमानत लेखी दिएमा सो बमोजिमको जमानतलाई अस्वीकार गरिने छैन ।
(६) जमानत राखिएको अचल जायजेथा सो जमानत राख्नु भन्दा अघि अन्यत्र जमानत राखेको वा अरु कुनै किसिमले हस्तान्तरण गरेको कुरा पछि पत्ता लागि ठहर्न आएमा निजका साथ भएको ठेक्का तोडी ऐन बमोजिम अरुका साथ ठेक्का बन्दोवस्त हुनेछ । त्यसबाट नेपाल सरकारलाई हुन आउने नोक्सानी बिगो र त्यसको सूद समेत ठेकेदार र जमानी हुनेबाट ऐन बमोजिम असूल उपर गरी लिइने छ ।
(७) कुनै ठेकेदारको जमानत बापत आफ्नो अचल जायजेथा लेखिदिने जमानीले निजको ठेक्काको अवधिभर सो जमानतबाट छुटकारा पाउन सक्ने छैन ।